काठमाडौं - युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् । 

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै उनले खेलकुदको क्षेत्रमा गरेको प्रगतिबाट नेपाललाई विश्वले चिन्ने समय आउन लागेको बताए ।

“विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्”, उनले भने, “खेलकुदका लागि नेपाल हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ ।”

उनले खेलकुदको क्षेत्रमा लागेर कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहने बताए । “खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ”, उनले भने, “खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ ।”

मन्त्री विश्कर्माले १३ औँ दक्षिण एशियाली (साग) प्रतियोगिताले नेपालको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताए । “खेलाडीलाई सरकारका तर्फबाट आवश्यक प्रोत्साहन र हौसलाका कारण सागमा जीत हासिल गर्न सकिएको हो”, उनले भने, “५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन ।” उनले सरकार खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाए । 

अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुद भएको बताए । “हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ”, उनले भने, “खेलकुदमा जीत हासिल गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिरलाई उच्च पार्न सक्छौँ ।”

उनले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखे । कार्यक्रममा क्याम्पसप्रमुख डा निर्मला सुवाल, अनेरास्ववियुका नेता आरसी लामिछाने, सुदेश पराजुली, नेत्री आरती लामा, स्ववियु सभापति टपेन्द्र शाही, सचिव नारायण शर्मा लगायतले आरआर क्याम्पसले नेपालको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रमको आयोजना गरिएको स्ववियुले जनाएको छ ।