काठमाडौं - उज्यालो नेपाल पार्टीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि तीन दिनसम्म प्रभावकारी खोजी नभएको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समेत समयमै अनुसन्धान अघि नबढाइएको भन्ने स्थानीयवासी र पीडित परिवारको आरोप गम्भीर रहेको पार्टीले जनाएको छ।
प्रहरीको सम्भावित लापरबाहीका कारण अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै पनि घटना भएको पुष्टि भए त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने उज्यालो नेपाल पार्टीको भनाइ छ।
पार्टीले घटनामा संलग्न दोषीको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथा बालिका हराएको घटनादेखि शव फेला परेको अवस्थासम्म प्रहरीबाट भएका कामकारबाहीको समेत निष्पक्ष छानबिन गर्न माग गरेको छ।
विद्यमान कानुन दोषीलाई कारबाही गर्न अपर्याप्त देखिए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने पार्टीले जनाएको छ।
त्यसैगरी, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्दै उचित राहत, न्याय र आवश्यक संरक्षणको व्यवस्था गर्नसमेत सरकारसँग माग गरिएको छ।
उज्यालो नेपाल पार्टीले यस्ता संवेदनशील घटनामा प्रहरी तथा राज्यका निकायबाट हुने अनुसन्धानमा कुनै प्रकारको ढिलाइ, लापरबाही वा दबाब स्वीकार्य नहुने भन्दै पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी छानबिन अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

.gif)



