काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्थासमेत आउनसक्ने बताए ।

उनले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने ओलीको दाबी छ । 

‘अलि तातोतातो पानी लिँदै 'नस' लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चट ! नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’ ओलीले भने । 

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको बताए ।