काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा फेरि पनि ईश्वरप्रसाद खतिवडासहितको इजलासमा परेको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि आज खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो। मुद्दाबारे आजै फैसला आउन सक्ने सम्भावना छ।

भदौ ४ गते मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन्। उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनैपनि निर्णय नगर्न आदेश गरेको थियो।