खुलामञ्चमा खाना वितरण गर्न कसले रोक्दो रहेछ हेरौँ : साझा पार्टी
काठमाडौं - काठमाडौं महानगरले खुलामञ्चमा असहायहरूलाई खाना वितरणमा रोक लगाएपछि साझा पार्टीले विरोध जनाएको छ ।
केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको हो ।
पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।'
'सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।'विज्ञप्तिमा भनिएको छ ।
सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्न साझाले माग गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस