काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन् । उनले पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने बताए ।

साथै उनले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए ।

बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रकाविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको उनको भनाइ छ ।

मुलुकमा प्रकट भएका गम्भीर विषयलाई सदनमा गम्भीर रुपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताए।