काठमाडौं - सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि आज पेशी चढे पनि सुनुवाइ भएन ।

नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिटको पेशी आज न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो । तर, रिटको पेशी चढे पनि बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन नसकेको अदालत स्रोतले जनाएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुख सापकोटाले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको रिटमा दाबी गरेका छन् ।

सभामुख सापकोटाले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्याएर गरेको निर्णय कानूनविपरीत रहेको रिटमा दाबी छ । एमालेले सभामुखको सो निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ ।

साथै दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदरको माग गरिएको छ । निर्वाचन आयोगले प्रक्रिया मोडेर धेरै संख्या पुर्याइ नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको एमालेले दाबी गरेको छ ।

त्यसैगरी रिटमा भारतको नयाँदिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामा समेत गैरकानुनी रुपमा स्वीकार गरेको दाबी गरेको छ ।