काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन्। सरकार, डाक्टर केसी स्वयम् र अरू सबैले केसीको जीवन रक्षा गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक २५ दिनदेखि केसी अनसनमा छन्। सरकारले केसीसँग वार्ता गर्न समिति गठन गरेको छ। शिक्षा सचिव नेतृत्वको उक्त समितिले डाक्टर केसीले बनाएको वार्ता टोलीसँग बिहीबार वार्ता गरेका छन्।

‘डाक्टर केसीसँग कयौं विषयमा असहमति हुन सक्ला र छन् पनि,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनसनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर के  कुरामा शँका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ।’

डाक्टर केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको पनि उनले उल्लेख गरेका छन्।

‘उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सरकारले हिजो डाक्टर केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ।’