काठमाडौं - लुम्बिनी प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ ।

आज बिहान मुख्यमन्त्री निवासमा बसेको एमाले संसदीय दलको बैठकले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेमा आवश्यक निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको हो । 

मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

सतासी सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा पोखरेल अल्पमतमा परेका छन् ।