अर्थमन्त्री खतिवडाले दिए राजीनामा
काठमाडौं - डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका खतिवडाले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । गत फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले २०७६ फागुन २१ गते मन्त्रीको रूपमा दोस्रोपटक शपथ लिएका थिए ।
सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय मन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार खतिवडाले राजीनामा गरेका हुन् । दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा खतिवडाले आफूले गरेका कामबारे जानकारी सहित बिदाइ मन्तव्य दिएका थिए ।
नेकपा सचिवालयको बिहीवारको बैठकले राष्ट्रिय सभामा रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।
खतिवडाको राजीनामासँगै अर्थ र सञ्चार मन्त्रालय रिक्त भएको छ । गोकुल बाँस्कोटाले राजीनामा गरेपछि सरकारको प्रवक्ताको भूमिका पनि खतिवडाले निभाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस