राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, भर्चुअलबाट आजै नतिजा आउने
काठमाडौं - लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन शुरू भएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको उपनिर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् । अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने कार्य जारी छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उक्त रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट खड्का स्वयं छन् भने विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी( यादव–भट्टराई पक्ष) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् । एमालेका खड्कालाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ।
उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन् । आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।
यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगले आइतबार साँझ जसपाका यादव–भट्टराई समूहले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान गर्ने अधिकार दिएको छ ।
निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आजै मतपरिणाम आउने छ । निर्वाचनको मतपरिणाम कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस