काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । 

केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणमा डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । 

जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।