काठमाडाैं - बिहीबारदेखि सुरु भएको नेकपा एमाले माधवुकमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बिहान ११ बजेपछि दाेस्राे दिनकाे बैठक सुरु हुने छ। पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हाे ।

बिहीबारको बैठकमा सामेल केही केन्द्रीय सदस्यहरुले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे आ–आफ्नो धारणा राखेका थिए । बिहीबार धारणा राखेका केहीले तत्काल सरकारमा जानु पर्नेमा जोड दिएका थिए भने केहीले पार्टी एकतामा पहल गर्न नेपाललाई आग्रह गर्दै एकताको सम्भावना रहेसम्म सरकारमा जान नहुने सुझाएका थिए ।

बैठकमा नेता भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमतिबारे ब्रिफिङ्ग गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रभावित पार्ने किसिमले उत्तेजक भाषण नदिन नेताहरूलाई आग्रह गरेका थिए । आजको बैठकमा पनि नेताहरुले धारणा राख्ने छन् ।