काठमाडौं - चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–भारतबीचको सीमा विवादमा चीनले कुनै पनि पक्षधरता नलिने स्पष्ट पारेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारत–चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने विषयमा भएको समझदारीबारे चिन्ता व्यक्त गरेका थिए । उनले लिपुलेक नेपालको भूभागमा पर्ने भन्दै यसप्रति नेपाल सरकारले कडा आपत्ति जनाएको कुरा राष्ट्रपति सीसमक्ष राखेका थिए ।

जवाफमा राष्ट्रपति सीले लिपुलेक परम्परागत रूपमा प्रयोग हुँदै आएको नाका भएको उल्लेख गरे पनि नेपाल–भारतबीचको सीमा विवाद द्विपक्षीय संवादमै समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

सचिव राईका अनुसार राष्ट्रपति सीले लिपुलेकबारे नेपालको दाबीप्रति कुनै प्रकारको कमी हुन नदिइने आश्वासन पनि दिएका थिए ।