काठमाडौं - नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधिलाई अब मान्यता दिन नसक्ने बताएका छन् । 

विहीबार बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेपाल-खनाल पक्षलाई लक्षित गरी यस्तो बताएका हुन् । पार्टीलाई अनुशासित बनाउनुपर्ने उनको भनाई छ ।  ‘पार्टी अनुशासित बनाउनुपर्छ,  अनुशासनहीनता र अराजकतासँग सम्झौता र गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’ उनले भने । 

यस्तै, ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन्। कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने पनि उनले प्रष्ट पारेका छन् । ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन’ उनले भने , ‘अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ। यसलाई कमजोरी नठानियोस् ।’