काठमाडौं  - नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको छ । 

विहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका तय गरेको हो । बैठकले यसअघि तय भएको तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको र केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै महाधिवेशनको मिति तय भएसँगै केही नेताहरुको दौडधुप सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश १ र २ का तराईका जिल्लाको भ्रमणमा पुगेका छन् ।

कांग्रेसले महाधिवेशन अघि क्रियाशील सदस्यहरुको विवरण तयार गर्न केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ ।

बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।