एमालेकाे स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। बैठक पार्टीको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित हुने छ ।
संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका अध्यक्ष शर्मा ओली नीजि निवासमा आफ्ना पक्षका नेताहरुसँग छलफलमा जुटेका छन् भने यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन् । एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बस्न लागेको यो बैठकलाई चासोपूर्वक हेरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस