काठमाडौं - बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने उनको भनाइ छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदो शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको उनले बताए।

प्रिमनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भइ बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।