काठमाडौं - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका हुन्।
तर, टस भइसके पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा जारी रहेकाले खेल सुरु हुने समय प्रभावित हुन सक्ने देखिएको छ।
वर्षाका कारण मैदानमा त्रिपाल ओछ्याइएको छ। हाल मुख्य पिचलाई मात्रै कभर गरिएको छ भने आउटफिल्ड खुला नै छ।
वर्षाकै बीच अम्पायरहरूले छाता ओढेर टस गराएका थिए।
टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्।
यद्यपि, वर्षा जारी रहे खेल सञ्चालनका लागि मैदानको अवस्था अनुकूल हुनुपर्नेछ।
एनपीएलमा आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै जित निकालेको थियो ।

.gif)


