काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

आजको बैठक पछिल्लो समय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीत हुने बताइएको छ । साथै कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि हालसम्म २९ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।