काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ। 

काठमाडौंको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले पार्टी एकताबारे धारणा राखेपछि बैठक सकिएको हो ।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरेर हाल स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओली समूहसँग आशंका कायमै रहेको उल्लेख गर्दै नेताहरुले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र ओली समूहलाई त्यसतर्फ सोच्न सकिने बताएका थिए । नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो ।

ओली अध्यक्ष रहेसम्म एमाले एक हुन सम्भावना नहुने कुरासमेत बैठकमा उठेको माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरी जानकारी दिए । 

स्थायी कमिटी बैठक बसिरहेको र छलफलपछि नेता नेपालले नेताहरूको प्रश्न र जिज्ञासाको जवाफ दिने तयारी छ ।