देशको संकट हल गर्न बाबुराम भट्टराईले अघि सारे यी ४ प्रस्ताव
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।
भट्टराईले संविधानको धारा ७६ (२) अनुसार वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन् । उनको यो प्रस्तावअनुसार हाल प्रधानमन्त्रीको दौडमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि सर्न पाउनेछैनन् । यसअघि नै प्रधानमन्त्री भइसकेका उनी स्वयंले पनि नेतृत्व गर्न पाउनेछैनन् ।
साथै उनले दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने र एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!’
फेसबुक पेज Like गर्नुहोस