'बजेटमा जीवनरक्षा पहिलो प्राथमिकता'
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उनले स्पष्ट पारे ।
आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई सँगसँगै अगाडि बढाउन खोजिएको प्रसङ्ग जोड्दै उनले भने, 'यी दुवैको सन्तुलन मिलाउन खोजेका छौँ ।' अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रिबजेट छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । सोमबारको बैठकमा उनले बजेटको प्राथमिकताका विस्तृत पक्ष स्पष्ट पारे ।
आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउँदै यी क्षेत्रलाई बलियो पारिने बताउँदै उनले कृषि उत्पादन बढाएर बजार र उपभोक्तासम्म जोड्नेतर्फ बजेट केन्द्रित हुने आश्वस्त गरे। विदेशमा रहेका नेपाली फर्केर आउँदा ग्रामीण कृषिमा संलग्न गराएर रोजगारी र उत्पादन बढाउँदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न खोजिएको उनले स्पष्ट गरे।
उनले भने, 'कृषकले आफ्नो उत्पादनको सही मूल्य पाउने अवस्था सिर्जना गर्न बजार र कृषि उत्पादनको माग बढाउन सक्नुपर्छ त्यसका लागि क्रय शक्ति बढाउने गरी बजेट ल्याउने छ । सन्तुलित विकास भनेको पनि यही हो । त्यसतर्फ बजेट परिलक्षित हुनेछ ।' 'बजेटको सिद्धान्त र प्राथमिकताहरू समय सन्दर्भ, बदलिँदो विश्व परिस्थिति, नयाँ आकाङ्क्षा र आवश्यकताका आधारमा शैली र बाटो पनि परिवर्तन गर्दै जानुपर्ने छ,’’ उनले भने, 'नयाँ परिवर्तित अवस्थाले प्राथमिकता फेरिएका छन् ।'
प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै लैजाने गरी साधन स्रोतको विनियोजन गर्ने र सङ्गठन संरचनालगायतका क्षमता विकास गरिने उनले स्पष्ट पारे । उनले भने, 'ती क्षेत्रहरू सेवा प्रवाहका आधारभूत क्षेत्रका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट अघि बढ्नेछ ।'
कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको बताउँदै उनले भने, 'त्यसले हामी सङ्घीयतामा गएको महìवको पुष्टि भएको छ ।' सीमा सुरक्षाको विषयलाई बजेटको प्राथमिकतामा नै सम्बोधन गरिएको चर्चा गर्दै उनले भने,'सीमा सुरक्षाको सन्दर्भमा सरकार गम्भीर छ ।'
कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर पुगेको हुँदा केही आधारभूत आर्थिक क्षेत्रलाई चलायमान बनाउन लागिएको उनले बताए ।
विदेशमा रहेका नेपालीप्रति सचेत
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले विदेशमा रहेका नेपाली नागरिकलाई त्यहीँ सुरक्षित राख्न उच्च कूटनीतिक तहमा छलफल भइरहेको स्पष्ट पारे ।
नेपालमा रहेका अन्य देशका नागरिकको जिम्मेवारी नेपाल सरकारले लिइरहेको चर्चा गर्दै उनले भने, 'हाम्रा नागरिक पनि जहाँ जहाँ हुनुहुन्छ तपाईंहरूले राखिदिनुस् भनेर उच्च कूटनीतिक तहमा छलफल भइरहेको छ ।'
कोरोना महामारीका कारण विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले चासो नदिएको सांसदहरूले प्रश्न उठाउनुभएको थियो । विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई आफ्नै कूटनीतिक नियोगमार्फत राहत पु¥याइने पनि बताउँदै उनले आवागमन खोल्ने कुरा अहिले जोखिमयुक्त हुने भएकाले रोगको सङ्क्रमणबाट सबैलाई बचाउनका लागि यसो गरिएको पनि स्पष्ट पारे ।
बजेटको आकार नघटाउन आग्रह
त्यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले आगामी बजेटको आकार घटाउन नहुने सुझाव दिनुभएको छ । आर्थिक वृद्धिदर घट्ने भएका कारण बजेटको आकार घटाउने प्रसङ्ग चलेको सन्दर्भ जोड्दै उनले भने, 'ठूलो आकारको आजको आवश्यकतासँग मेल खाने खालको ल्याउनुपर्छ । बजेटलाई अहिलेको परिस्थिति चलायमान गराउने गरी अगाडि बढाउनुपर्छ ।'
आगामी बजेटको मुख्य प्राथमिकता कृषि हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने, 'आम किसानको रक्षा र उत्थान हुने गरी कृषि क्रान्ति गर्नुपर्छ ।' यसैगरी कोरोना रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनमा, गरिबका लागि राहत प्याकेज र आर्थिक पुनरुत्थानमा बजेट केन्द्रित हुनुपर्ने सुझाव उनले दिए।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस