काठमाडौं-आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

शनिबार श्रीलंकाको कोलम्बोमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १४७ रनको लक्ष्य राख्दा पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

खेलको अन्त्यतिर फहिम अशरफले ११ बलमा २९ रन अविजित बनाएर पाकिस्तानलाई जित दिलाए । उनले ३ छक्का र २ चौका प्रहार गरे । पाकिस्तानका अन्य मुख्य ब्याट्सम्यानमा साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५, र सलमान अघाले १२ रन बनाए । बलिङमा आर्यान दत्त र पल भान मिकेरनले नेदरल्यान्ड्सका लागि दुई–दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९।५ ओभरमा १४७ रनमा अलआउट भयो । कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, र कोलिन एकरम्यानले २० रन बनाए ।

पाकिस्तानका सलमान मिर्जाले तीन, साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई, अनि साहिन शाह अफ्रिदीले एक विकेट लिए ।

प्रतियोगितामा पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’मा छन् । यो समूहमा यी दुई टिमसँगै नामिबिया, अमेरिका र भारत छन् । आजदेखि सुरु प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् ।