सिमरामा विद्या भण्डारीलाई ५१ किलोको माला लगाइदिएर स्वागत
काठमाडाैं - नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगंज पुगेकी छन्। उद्योग वाणिज्य संघकाे आयाेजनामा हुने महिला सम्मेलनमा सहभागी हुन उनी शनिबार वीरगंज पुगेकी हुन्।
काठमाडाैंबाट बाराको सिमरास्थित विमानस्थल भण्डारीलाई स्वागत गर्न एमाले नेता-कार्यकर्ताहरूकाे लर्काे लागेकाे थियाे। उनलाई एमाले नेता-कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरे।
स्वागतका लागि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेललगायतका नेताहरू सिमरा पुगेका थिए। यसअघि कोशी प्रदेशको यात्राका क्रममा पनि भण्डारीको पक्षमा नेता-कार्यकर्ताहरूको भीड देखिएको थियो।
आफूलाई नै टक्कर दिनेगरी भण्डारी अघि बढेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नै खारेज गरिदिएका छन्। तर भण्डारी पछि हटेकी छैनन्। उनी छुट्टै कार्यालय नै खडा गरेर देश दाैडाह गरिरहेकी छन्।
विधान महाधिवेशनमा भण्डारीकाे सदस्ता कायम गराउने गरी उनी पक्षका नेताहरूले फरक प्रस्ताव लाँदैछन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलकाे नेतृत्वमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतले फरक प्रस्तावकाे तयारी गरेका हुन्।
फरक प्रस्ताव नै लाने तयारी गरेपछि अध्यक्ष ओली भने विधान महाधिवेशनमा दायाँबायाँ गरेकाे खण्डमा राष्ट्रिय महाधिवेशनबाट हिसाबकिताब गर्ने सम्मकाे चेतावनी दिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस