काठमाडौं - उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन्।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतले जे फैसला गरे पनि मान्ने हुने धारणा राखेका हुन् । उनले अदालतको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने पनि बताए । 

‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’ उनले भने, ‘स्वीकार्य हुन्छ ।’ तर, चुनावमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने उनको जिकिर छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि उक्त कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।  उक्त मुद्दालाई सर्वोच्चको संवैधानिक इजलासले आज ‘हेर्दाहेर्दै’को पेसीमा राखेको छ  ।