काठमाडौं - नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले सम्झौता कार्यान्वयन नभए काठमाडौँको फोहोर फाल्न नदिने चेतावनी दिएका छन्। 

दुई पालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुसँग यसअघि भएका सम्झौता १५ दिनभित्र कार्यान्वयन नभए काठमाडौँ महानगरपालिकासहित १८ नगरपालिकाको फोहोर फाल्न नदिने चेतावनी दिएका हुन्।

‘विगत १८ वर्षदेखि काठमाडौं  महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरुको फोहोर विसर्जन हुँदै आएको कुरा विदितै छ। सो सम्बन्धमा ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाको जनप्रतिनिधिहरुको बैठकबाट तपशिलका माग आजको मितिबाट १५ दिनभित्र पूरा नभए हामी संघर्ष गर्न बाध्य हुनेछौँ। सो अस्था सिर्जना नगर्नको निम्ति सम्बन्धित सरोकारवालालाई हार्दिक अनुरोध गर्दछौँ,’ दुई पालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०७९ जेठ २३ गते नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरुबीच र मिति जेठ २६ गते काठमाडौँ महानगर, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित  क्षेत्रका वडाध्यक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग उनीहरुले गरेका छन्।