स्वास्थ्य सामग्री खरिदमा मूल्य अन्तर उच्च
काठमाडौं - सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई फरक प्रक्रियाबाट खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर पाइएको छ । सेनाले भित्र्याएका अधिकांश स्वास्थ्य सामग्री ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले ल्याएभन्दा सस्तो छ । तर यी दुवैले सरकारलाई उपलब्ध गराएका सामग्रीभन्दा बजार मूल्य निकै सस्तो छ ।
शुरूमा स्वास्थ्य मन्त्रालयकै समन्वयमा स्वास्थ्य सेवा विभागले ओबीसीआईसँग २०७६ चैत १२ गते गरेको खरिद सम्झौतामा उल्लेख गरिएका सामग्रीको रकम, पछि सेनाले ‘जीटूजी’ प्रक्रियाबाट ल्याएका स्वास्थ्य सामग्रीको रकम तथा बजार मूल्यमा उच्च अन्तर देखिन्छ ।
स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार ओबीसीआई र सेनाले खरिद गरेका सामग्रीका मूल्यमा यस्तो अन्तर पाइएको हो । चिनियाँ अनलाइन बजारको मूल्य सूची र काठमाडौंमा स्वास्थ्य सामग्री बिक्री गर्ने एजेन्सीहरूका अनुसार पनि मूल्यमा धेरै भिन्नता छ । सेनाले चीनबाट ६९ थरी स्वास्थ्य सामग्री करिब २ अर्ब २६ करोड रुपैयाँमा खरिद गरेको हो भने ओम्नीले करिब २७ करोड ६५ लाख रुपैयाँबराबरको सामान ल्याएर नेपाल सरकारलाई बेचेको थियो ।
ओम्नीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न चरणमा गरेर १८ वटा सामान खरिद गर्ने निर्णय भएको थियो । तर नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीनबाट ल्याएका पहिलो लटका सामग्रीको गुणस्तर तथा मूल्यलाई लिएर विवाद भएपछि सम्झौता तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।
नेपाली बजारमा मास्क, पीसीआर तथा आरडीटी किटलगायत सामग्री अभाव रहेका कारण विवादबीच नै विभागले ओम्नीले ल्याएका ९ थरी सामान भने प्रयोग गर्ने निर्णय गरेको थियो । ओम्नीसँगको खरिद प्रक्रिया विवादित बनेपछि मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनालाई सामान खरिद गर्न लगाउने निर्णय गरेको थियो ।
चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीलगायतका उपकरण खरिद गर्न रक्षा मन्त्रालयमार्फत निर्देशन दिने निर्णय गरेको थियो ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस