काठमाडौं-मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो।

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच बुधबार (हिजो) राति १० बुँदे सहमति भएको थियो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

जसमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणहितको परिपूरण, भदौ २३ र २४ का घटनाको अनुसन्धान, अभियोजना र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार, राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता, नेपालको संविधानमा गर्नुपर्ने सुधार, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता, जेनजी परिषद्‍को गठन लगायतका विषय समेटिएका छन्।