काठमाडौं - विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ५१ जना नेपालीहरूको उद्धार गरिएको छ । 

अनलाइन स्क्यामिङ केन्द्रहरूमा ठगीका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरूलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो ।

उद्धार गरी गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।

दूतावासका अनुसार उनीहरूलाई कम्बोडियाका अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । धेरैजसो नेपालीहरू बिना भिसा वा भिसाको अवधि सकिएर अलपत्र अवस्थामा फेला परेका थिए ।  

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंकले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको जनाएको छ ।

साथै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

यसअघि पनि यही चैत्र ५ गते कम्बोडियामा अलपत्र परेका २० नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो ।

त्यसअघि फाल्गुन २८ गते विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको थियो ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।