काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले  आर्थिक वर्ष २०७८-७९ को लागि सरकारले ल्याएको बजेट अत्यधिक ऋणभारयुक्त रहेको टिप्पणी गरेका छन् । 

शनिबार सरकारले बजेट सार्वजनिक गरेलगत्तै नेता मिश्रले उक्त बजेट लोकप्रियतावादी, वितरणमुखी, फोकस-हीन, अत्यधिक ऋणभारयुक्त रहेको बताएका हुन् । भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिनाको बजेटले तोकिएका लक्षहरू हासिल गर्न नसक्ने उनको भनाई छ । 

‘बजेट लोकप्रियतावादी, वितरणमुखी, फोकस-हीन, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।’ उनले भनेका छन्, ‘भ्रष्टाचार न्यूनिकरण र राज्यको क्षमता अभिवृद्धीबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँछ।’  

सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अध्यादेश जारी गरेर शनिबार १६ खर्व ४७ अर्व ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।