खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीविरूद्ध अभियान घोषणा गर्ने
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ ।
खनाल-नेपाल पक्षको आजको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियानको घोषणा गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गरेर नेकपा एमालेलाई व्यूँताएपछि ओलीले पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले गतिविधि गरेको तथा जिम्मेवार नेताहरूमाथि कारबाही गरेको विषयलाई स्थानिय तहसम्म स्पष्ट पार्न जरुरी भएको सो पक्षको भनाई छ ।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
खनाल-नेपाल पक्षको स्थायी कमिटीको बैठक शुक्रबार पनि बसेको थियो । उक्त बेठकले चैत ४ र ५ गते ललितपुरमा भएकाे राष्ट्रिय कार्यकर्ता भेलामा आएका सुझावलाई समेटेर बनाइएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजानेसमेत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिएका थिए ।
गत फागुन २८ गते पार्टी अध्यक्ष ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुका साथै जिल्लाहरूमा समानान्तर कमिटी बनाउन सुरु गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस