काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् भन्दै यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् भनेका छन् ।

‘आज गाईजात्रा पर्व ,’ उनले लेखेका छन्, ‘सबैलाई गाईजात्राको हार्दिक शुभकामना !’

मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको यस पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गर्दै मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मान्यता ओलीले सुनाए।

‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ । गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्। यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्,’ उनले लेखेका छन् ।