काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार तीन प्रदेशका नेताहरुसंग छलफल गदै छन् । पार्टी सभापतिमा दोहरीनको लागि आज पनि आन्तरिक छलफल गर्दैछन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । महाधिवेशनबाट फेरि सभापति बन्न देउवाले अहिले देखि नै आफू निकट नेताहरुसंग छलफल सुरु गरेका छन् । देउवाले आज सुदुरपश्चिम , लुम्बिनी र कर्णाली प्रदेशका केन्द्रीय सदस्य र प्रदेश स्तरका नेताहरुसंग छलफल गर्ने बताइएको छ । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए ।

सोमबारको छलफलका तीनवटै प्रदेशका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गराउन आफूले चाहेको भन्दै देउवाले १४औं महाधिवेशनमा पनि सभापतिमा दोहरीने बताउने गरेका छन् । तर देउवाकालाई उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने भन्दै दवाव दिन थालेको कांग्रेस वृतमा चर्चा चलेको छ ।

उता पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने चाहना देखाएको बताइन्छ । आफ्नै पक्षबाट देउवालाई चुनौती थपिएपछि सबैलाई मिलाएर लिनु पर्ने छ । यसअघि भएका ४ वटा प्रदेशका छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले निधि, श्रेष्ठलगायतलाई सहमत गराउन देउवालाई सुझाएका छलफलमा सहभागी एक नेताले बताए ।