काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

आइतबार गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी गरेका हुन् ।

“आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ,” उनले भने । अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने दाबी गरे ।

उनले भने, “यो स्थापित तथ्य हो । अझै बढी मिमिनेत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ ।”अध्यक्ष प्रचण्डले सरकारको अघिल्लो दुई वर्ष कानून बनाउँदा र छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउँदा बितेको भन्दै अब जनसेवाको काम गर्ने पनि बताए ।

उनले भने, ‘विकास र समृद्धिको हिसाबले पनि अभियान सुरु भएता पनि जनताले जुन गतिमा खोजेको छ, अझै त्यो उत्साह आइसकेको छैन । अबको समय जनसेवाको लागि हो ।’