काठमाडौं - प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर, एकाएक जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहिन भएको भन्ने कुरा बाहिर आयो । 

त्यसपछि जनमोर्चाकै सांसद पियारी थापाले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गर्न पत्र दिएकी थिइन् । सोही पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले शाहीको अवस्था सार्वजनिक नहुँदासम्म सदन स्थगित गरिदिए । अन्त्यमा शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिए । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा शाहीलाई आफ्नै पार्टीका सांंसद्लाई समेत भेट्न नदिइएको भन्दै विभिन्न टिकाटिप्पणी बाहिरिए । 

तर, बिहीवार अस्पतालबाट विज्ञप्ति जारी गरेर शाहीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको र आफू सदनमा जाने भनी तयारी अवस्थामा रहेका बेला अचानक विरामी भई अस्पताल जानुपरेको बताएका छन् । ‘अचानक विरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु। म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौ प्रश्नको बारेमा स्पष्ट गर्नेछु।’ उनले विज्ञप्तिमा भनेका छन् । 

यस्तै, शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागिता र सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेका छन् ।