काठमाडौं - प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट शुरू गर्ने राजनीतिक समझदारी बनेको छ ।

उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले शुक्रवार बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएकी छन् । राजनीतिक परामर्शपछि ११ गते १ बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ११ गतेको बैठकले कार्यतालिका सार्वजनिक गर्ने बताए । प्रतिनिधिसभा बैठकपछि नेम्वाङले भने, 'पुस ११ गते बस्ने बैठकले प्रक्रिया प्रारम्भ गर्ने छ । प्रक्रिया अघि बढाइनुभन्दा अघि अन्य निर्णय हुने छन् ।'

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि स्थान रिक्त छ । संसद्को पाँचौं अधिवेशन शुक्रवार शुरू भएसँगै सभामुख चयनको विषयले प्राथमिकता पाएको हो । सभामुखको उम्मेदवारबारे राजनीतिक दलहरूबीच औपचारिक गृहकार्य नभएको खबर  छ ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख नेकपाबाट डा. तुम्बाहाङ्फे छिन् । सभामुख आफैं राख्ने रणनीतिमा नेकपा छ । यसर्थ कम्तीमा पनि कार्यतालिका सार्वजनिकसँगै उपसभामुखको राजीनामा हुने छ । सभामुखको उम्मेदवार भने सत्तारूढ दल नेकपाले टुङ्गो लगाएको छैन । 

 

 गोरखापत्रबाट