‘दायाँबायाँ गर्न छुट छैन’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन् । मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन । देशका लागि समय खर्चिनुस् ।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिए । सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए । ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार बैठकमा कुनै निर्णय भएन । ‘प्रधानमन्त्रीज्यूले बैठकमा बोलाउनु भयो । धन्यवाद दिनुभयो र काममा ध्यान दिन निर्देशन दिनुभयो’, ती मन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले चार दिनपछि समीक्षा बैठक बस्ने जानकारी गराउँदै नयाँ मन्त्रीलाई कार्ययोजना ल्याउन र पुरानालाई आ–आफ्नो मन्त्रालयको प्रगतिविवरण पेस गर्न निर्देशन दिएका छन् । ओलीले मन्त्रिपरिषद् बैठकअघि मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर चुस्त र पारदर्शी ढंगले परिणाममुखी काम गर्न निर्देशन दिएका थिए ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस