काठमाडौं - अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित पार्न इरानले मतदातालाई डरधम्की देखाउँदै इमेल पठाएको आरोप अधिकारीहरूले लगाएका छन् ।

नेसनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले ती इमेल चरण दक्षिणपन्थी ट्रम्प समर्थक समूहबाट अमेरिकामा अस्थिरता पैदा गराउनका लागि पठाइएको दाबी गरे । उनका अनुसार त्यस्ता इमेलहरू डेमोक्र्याटिक मतदाताप्रति लक्षित छन् ।

निर्देशक र्‍याटक्लिफले रुस र इरानले अमेरिकी मतदाताको व्यक्तिगत जानकारी अवैधानिक रूपमा हासिल गरेको अमेरिकी अधिकारीहरूले पत्ता लगाएको बताए । अमेरिकामा राष्ट्रपति चुनावको दुई साताअघि अमेरिकी उच्च सुरक्षा अधिकारीले यस्तो बताएका हुन् ।

चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले कडा टक्कर दिने ठानिएको छ । कतिपय चुनावी सर्वेक्षणहरूले ट्रम्पभन्दा बाइडेन करिब १० अंकले अघि रहेको देखाएका छन् ।

वासिङ्टनमा आयोजित ब्रिफिङमा निर्देशक र्‍याटक्लिफले इरानले फर्जी इमेल पठाएर अन्योल पैदा गर्दै लोकतन्त्रप्रति अमेरिकी नागरिकको आत्मविश्वासलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए ।


इरानले जस्तो फर्जी इमेल नपठाएको भए पनि रुसले अमेरिकी मतदाताबारे सूचना भने प्राप्त गरेको निर्देशक र्‍याटक्लिफको दाबी छ । उनले अमेरिकी नागरिकलाई डर देखाउने र तथ्य तोडमोड गरी आएका इमेलबाट नडराउन र त्यसलाई नफैलाउन पनि आग्रह गरेका छन् । ती सूचना रुस र इरानले कसरी प्राप्त गरे भन्नेबारे भने निर्देशक र्‍याटक्लिफले केही नबताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रेस ब्रिफिङमा अमेरिकीको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रेसमेत उपस्थित थिए । उनले अमेरिकी चुनाव प्रणाली अहिले पनि सुरक्षित रहेकाले मतदाताहरू अत्तिनुपर्ने अवस्था नरहेको जनाए । ‘तपाईंहरू ढुक्क हुनुहोस् । तपाईंको मतले ठूलो अर्थ राख्छ,’ रेसले भने ।

इरान र रुस दुवैले अमेरिकी गुप्तचर अधिकारीले लगाएको आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूको दाबी इरानले कडा रूपमा खारेज गर्दछ । तेहरानस्थित स्विस राजदूतलाई जानकारी गराइएका आरोप आधारहीन र झूटा हुन्,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजदेहले भने । तेहरानस्थित स्विस राजदूतले अमेरिकाको प्रतिनिधित्व गर्दै आएका छन् ।

‘हामीले पहिले नै भनेजस्तो अमेरिकी चुनावमा जोसुकैले जिते पनि इरानका लागि कुनै फरक छैन,’ उनले भने ।

त्यसैगरी रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘हामीलाई लाग्छ यो निकै दुर्भाग्यपूर्ण छ । यस्ता आरोपहरू दैनिकजसो आउँछन् । यी सबै आधारहीन छन्,’ पेस्कोभले भने ।

कतिपय अमेरिकी राज्यहरूमा माग भएको अवस्थामा मतदाताको तथ्यांक उपलब्ध गराउने व्यवस्था छ । यद्यपि, कुन तथ्यांक के प्रयोजनका लागि उपलब्ध गराउने भन्नेबारे भने राज्यअनुसार फरक प्रावधान छ ।

यसअघि सन् २०१६ को राष्ट्रपतीय चुनावमा पनि रुसले प्रभावित गर्न खोजेको आरोप लाग्दै आएको छ । रुसले त्यसलाई अस्वीकार गर्दै आए पनि ट्रम्पलाई जिताउन डेमोक्र्याटिक पार्टीको कम्प्युटर प्रणाली रुसले ह्याक गरेको आरोप लाग्ने गरेको छ ।

 कान्तिपुर दैनिकबाट