काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालसँग छलफल गरेरमात्र आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेता नेपालसँग छलफल गरेपछि मात्र समर्थनबारे निर्णय गर्ने बताएका छन् ।

प्रचण्डले आफूहरूले समर्थन फिर्ता लिएपछि सरकारलाई विश्वासको मत लिनुपर्ने बाध्यता आउने बताउँदै त्यसअघि नेता नेपालसँगै छलफल गर्ने उनले बताए । ‘हामीले समर्थन फिर्ता लिने बित्तिकै उनले (ओलीले) विश्वासको मत लिनुपर्ने बाध्यता आउँछ ।

हामी नेपाली कांग्रेस र जसपासँग र नेकपा एमाले भित्रै पनि माधवजीहरूसँग सल्लाह गरेरमात्र समर्थन फिर्त लिने पक्षमा छौं। सबैसँग एउटा समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ। त्यसो नगरी समर्थन फिर्ता लिए अप्ठ्यारो स्थिति आउँछ।’

उनले जनता समाजवादी पार्टीमा विभिन्न धार देखिएको त्यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १८ देखि २० सांसद लैजाने तयारी गरेको बताए । त्यसका लागि पैसादेखि मन्त्रीसम्मको लोभ दिइएको उल्लेख गरे।