काठमाडौं - पाटन अस्पताल र वीर अस्पतालमा मृत्यु भएका ३ जना बिरामीको रिपोर्टमा कोरोना भाइरस (कोभिड-१९) नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मंगलबार मन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको आशङ्‍कामा उनीहरूको नमुना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । सोमबार वीर अस्पतालमा दुई जना र पाटनमा एक जना बिरामीको मृत्यु भएको थियो ।

यस्तै, मन्त्रालयले देशभर कोरोना संक्रमणको आशंकामा भर्ना भएका ८७ जना आइसोलेसनमा रहेको स्वास्थ्य जनाएको छ । काठमाडौंमा १० जना र ७७ जना प्रदेशमा आइसोलेसनमा रहेको बताइएको छ ।

“आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना आशंकामा एक हजार ६० जनाको कोरोना परीक्षण भएको छ,” प्रवक्ता देवकोटाले भने, “काठमाडौं बाहिरका प्रदेशमा ७७ जना विभिन्न अस्पतालको आइसोलेनमा भर्ना भएका छन् ।”