काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सघन छलफलमा जुटेका हुन् । मंगलवार साँझ देउवासहित छलफल गरेका प्रचण्ड र नेपालले  बुधवार जसपाका अध्यक्ष यादवको घरमा छलफल गरेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ भने कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीसँग जसपाको यादव-भट्टटाई पक्ष र एमालेकै नेपाल पक्ष पनि असन्तुष्ट छ । 

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन लागेका छन् । तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन सहज छैन । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।

यस्तो छ अंकगणित

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । संसदको सबभन्दा ठूलो दल एमालेसँग १ सय २१ सिट मात्रै छ। कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), माओवादी केन्द्रका ४९ र  जसपाका ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक(एक सांसद छन् । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत १ सय ३८ मत आवश्यक पर्छ।