कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना भागे, गाउँले त्रसित
कपिलवस्तु - क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।
कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै गएराति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् ।
दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर गएका हुन् ।कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ ।
तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपसमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको बताए ।
कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । कपिलवस्तुमा झण्डै सात हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस