काठमाडौं - सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिए । सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिँदै उनले चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा तीव्र परीक्षण (र्‍यापिड टेस्ट) मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिए ।


यदि परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेसिन मार्फत पुनः परीक्षण गरी निक्र्योल गरिने प्रवक्ता देवकोटाले जानकारी दिए । उनले बाग्लुङमा सङ्क्रमित व्यक्तिको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गरिने पनि जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा ‘र्‍यापिड टेस्ट’ मार्फत परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै उनले यसका लागि प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताए ।
कैलालीमा स्थानीय सङ्क्रमण देखिएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरेको थियो । यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २५२ नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले हालसम्म एक हजार ५२९ जनाको परीक्षण भएको जानकारी दिँदै काठमाडौंँमा १२ र बाहिर १०१ गरी जम्मा ११३ जना आइसोलेसनमा रहेको बताए ।

प्रभावित विभिन्न देशबाट आएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी उनले दिए । नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्काे चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै उनले विदेशबाट आएकालाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह गरे।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित हेटौँडा, चितवन, धरान, सुर्खेत, जनकपुर, पोखरा र धनगढी गरी आठ स्थानबाट नमुना परीक्षण भइरहेको छ । यस्तै बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीन जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
गोरखापत्र दैनिकबाट