काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बोलाइएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको हो । 

प्रदेशका प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएपछि बैठक बोलाइएको शाहले बताए ।

आइतबार सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन।

प्रस्ताव दर्ता पछि पत्रकार सम्मेलन गर्दै सांसद यामलाल कँडेलले गरेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिएका थिए । सरकार संघियताको भावना विपरित हिड्न खोजेको, जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको कँडेलको भनाई छ ।

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ। 

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।

कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् । अविश्वासको प्रस्तावमा साविक माओवादीका तीन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।