काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपले लिएको बताएका छन् । 

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले सरकार निरन्तर रहने दाबीसमेत गरे । सर्वोच्चको फैसलाले स्वार्थीहरु उफ्रिएको उनको भनाई छ । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै ओलीले भने, ‘मेरा केही भाइहरुले लड्डु खाए, ‘मुहँ मिठा’ गरे, खुसी भएर, जित्यौं हामीले भनेर । अब के पाउँछन् हेर्नुछ।’

‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’उनले भने । 

मंगलबार राति संसद पुनस्थापना भएको खुशीयालीमा प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका थिए ।