काठमाडौं - काठमाडौंका १२ स्थानमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मित्रपार्क, पुरानो बानेश्वर, नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटीका दुई स्थान, तीनकुने, पद्मोदय चोक, पुतलीसडक र बागबजारमा पुस अन्तिम सातादेखि ट्राफिक लाइट बल्न थालेका हुन् । २० वर्षअघि जाइकाले बनाइदिएको ट्राफिक लाइट पुनः प्रयोगमा ल्याइएको हो ।

मर्मत गरेर सञ्चालनमा ल्याइएका ट्राफिक लाइट दीर्घकालीन नहुने भएपछि अर्को विकल्पसमेत खोजिएको छ । सडक विभागले आगामी आर्थिक वर्ष ट्राफिक लाइटको विकल्पमा सेन्सरका आधारमा सडकको चापअनुसार सञ्चालन हुने स्मार्ट लाइट जडान गर्ने योजना बनाएको हो ।

नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तिनकुने, पद्मोदय चोक, पुतलीसडक, थापाथलीलगायतका ३५ स्थानमा स्मार्ट लाइट सञ्चालनमा ल्याउने विभागको योजना छ । विभागका महानिर्देशक इन्जिनियर केशवकुमार शर्माले भने ‘हाल सञ्चालनमा आएको ट्राफिक लाइट ट्राफिक व्यवस्थापनको दीर्घकालीन विकल्प होइन । स्मार्ट लाइटसँगै अन्डरग्राउन्ड, ओभरग्राउन्ड चल्ने मेट्रो रेल र ठूला सवारीसाधन सञ्चालनमा आए मात्रै दीर्घकालीन रूपमा ट्राफिक समस्या समाधान हुन्छ ।’ उपत्यकामा दर्ता भएका १२ लाख सवारीसाधनमध्ये १० लाख सञ्चालनमा रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  नयाँ पत्रिकानबाट