काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार भएको परिक्षणमा थप दुवै जनाको रिपोर्ट पोजेटिभ देखिएसँगै संख्या ५१ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु विरगन्जका पुरुषहरु रहेका छन् । उनीहरु दुवैको उमेर ५० वर्ष रहेको छ । उनीहरु दुवैलाई आइसोलेसनमा राखिएको छ । अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये १२ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् । तर, वीरगन्जको नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमित पनि निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार तीन जना भारतीय र एकजना नेपाली कोरोनाबाट मुक्त भएका हुन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १६ पुगेको छ ।