वर्षमा १४ हजारले बढ्यो सुन
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ ।
अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो ।
गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ ।
बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो ।
सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ । सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४.४८ रुपियाँमा बिक्री भएको छ । त्यसका साथै एक नेपाली सुनको भन्सार दर पनि बढेको छ ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस