आज चीनबाट ९ लाख डोज खोप आइपुग्ने, प्राथमिकतामा जेष्ठ नागरिक
काठमाडौं - चीनले अनुदानमा दिने घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज कोरोनाविरूद्धको खोप आज (मंगलबार) नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज अपरान्ह २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपुर्याउनेछ मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
त्यस्तै, तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड विमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार तीन खेपमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको हो । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा तारानाथ पोखरेलका अनुसार उच्च जोखिम समूहमा रहेकालाई खोप उपलब्ध गराइनेछ । ‘खोप आएलगत्तै कुन समूहलाई लगाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ,’ उहाँले भन्नुभयो,‘सम्भवतः ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सम्भावना बढी रहन्छ । खोप थप सुनिश्चितता भए ठूलो संख्यामा लगाउन सकिनेछ । कोरोन संक्रमणको जोखिम सबै उमेर समूहमा भएपनि खोपका लागि जेष्ठ नागरिक प्राथमिकतामा परेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस